काठमाडौँ, मंसिर।
प्रधानमन्त्री वालेन्द्र शाहको राजकीय भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्झौता कार्यान्वयन गर्न सरकारले गृहकार्य सुरु गरेको छ ।
भ्रमणका क्रममा भएका समझदारीलाई परिणाममुखी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयहरूसँग समन्वय र आवश्यक तयारी अघि बढाएको हो ।
सम्झौता तथा सहमतिलाई निर्धारित समयभित्र कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिने र त्यसको प्रगतिको नियमित अनुगमन गर्ने तयारी प्रधानमन्त्री कार्यालयले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले सम्झौता कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रालयको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालयले निरन्तर समन्वय र सहजीकरण गर्ने बताएका छन ।
उनले भने, सम्झौता गर्नुअघि नै सम्बन्धित मन्त्रालयले आवश्यक तयारी गरेको हुन्छ ।कार्यान्वयनका लागि पनि मन्त्रालयले निश्चित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हुन्छ ।
प्रधानमन्त्री कार्यालयले नियमित समन्वय गर्ने र कतै समस्या देखिए समाधानका लागि सहजीकरण गर्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता अर्यालले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धिलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमण सम्पन्न गरी मङ्सिर ७ गते स्वदेश फर्किएका हुन ।
भ्रमणका क्रममा ऊर्जा, पूर्वाधार तथा द्विपक्षीय सहकार्यका विषयमा भएका सहमतिलाई कार्यान्वयनमा लैजाने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास भएको थियो ।
परियोजनाको एक प्याकेजअन्तर्गत ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान भइसकेको र सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको प्रवक्ता अर्यालले जानकारी दिएका छन ।
प्रधानमन्त्री कार्यालयले द्विपक्षीय सहमतिका अतिरिक्त सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा वार्षिक कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न पनि काम अघि बढाएको छ ।
तीन आर्थिक वर्षका कार्यक्रमको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको र यसबाट दोहोरो तथा तेहोरो लगानीको अवस्था अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारी सेवा प्रवाह, सार्वजनिक खरिद, साइबर सुरक्षा, उद्यमशीलता विकास र लगानी सहजीकरणका क्षेत्रमा पनि प्रधानमन्त्री कार्यालयले समन्वयात्मक काम अघि बढाएको छ ।
नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुत प्रक्रियाबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति निर्माणको तयारी भइरहेको प्रवक्ता अर्यालले सञ्चारकर्मीलाई बताए ।