काठमाडौँ, फागुन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको पार्टी नेकपा माओवादी केन्द्रले सधैँ धोकाधडीको राजनीति गर्दै आएको टिप्पणी गरेका छन् ।
उनले दाहालले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए पनि त्यो गठबन्धन सरकारको भविष्य लामो नरहेको बताए
सोमबार पिठौलीमा प्रजातन्त्र सेनानी एवम् कांग्रेस नेता कुमबहादुर गुंगको शोक सभामा बोल्दै नेता कोइरालाले माओवादी र त्यसका अध्यक्ष दाहालले सधैँ धोका दिएको उल्लेख गरे ।
' गिरिजाबाबुले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुभयो । तर उहाँलाई नै माओवादीले धोका दियो । '
'कहिले एमालेलाई, कहिले कांग्रेसलाई, र जनतालाई, सधैँ धोकामात्रै दिएर उहाँको राजनीति चलिरहेको छ,' कोइरालाले भने, 'धोकाधडीबाट आएको यो सरकार धेरै टिक्नेवाला छैन ।'
उनले राष्ट्रपति बनाउने भन्दै गिरिजाप्रसाद कोइरालालाई धोका दिएका प्रचण्डले यो पटक राष्ट्रिय सभाको अध्यक्ष बनाउँछु भनेर कृष्णप्रसाद सिटौलालाई धोका दिएको बताए ।