काठमाडौँ, फागुन । पार्टीले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको पछि लागेर हिँड्न नपर्ने गरी महासमिति बैठकमा छलफल र बहस गर्नुपर्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् ।
महासमिति बैठकको सम्मुखमा आफैँले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले देशभरिबाट आएका प्रतिनिधि र नेताहरुलाई सम्बोधन गर्दै महासमिति बैठकका अपरिहार्य कार्यभारहरुबारे जानकारी गराएका थिए ।
महासमिति बैठकबाट पार्टी र मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउने गरी निष्कर्षमा पुग्न आवश्यक रहेको उनको जोड थियो ।
पार्टी संगठन निर्माण र परिचालन, समयमै महाधिवेशन, निर्वाचन प्रणालीमा सुधार, गठबन्धनका विषयमा नीतिगत स्पष्टता जस्ता विषयहरुमा महासमिति बैठकमा छलफल गर्नुपर्ने कोइरालाले बताएका छन् ।
‘म जिल्ला - जिल्ला घुम्दाखेरि साथीहरुले 'के हामी सधैं कम्युनिष्टको पछि लागेर हिँड्ने हो ? ' भनेर प्रश्न गर्नुहुन्छ।
हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ,' कोइरालाले भने, 'महासमिति बैठकबाट यसबारे बृहत छलफल गरेर निष्कर्षमा पुग्नु आवश्यक छ । '
'अहिले हामी देशभरि सरकारमा छौँ, फेरि पनि हामीप्रति जनलहर बढिरहेको छैन । भोट प्रतिशत घटिरहेको छ । यस्तो किन भइरहेको छरु यसबारे हामीले महासमितिबाट निष्कर्षमा पुग्नुपर्छ ।'
उनले पछिल्ला निर्वाचनमा कांग्रेसले ७ प्रतिशत भोट गुमाएकोप्रति पार्टीभित्र छलफल नै नभएको बताए । नेता कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै त्यसबारे पनि महासमिति बैठकले निर्णय गर्नुपर्ने बताए ।
'हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ कि यो निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं ।'
अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन,' उनले भने, 'के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि रु भन्नेतिर पनि हामी जानुपर्छ ।'