काठमाडौँ, फागुन । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वी भेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।
अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेश प्रदेशका एक-दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ ।
आज रातिको समयमा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
अहिले काठमाडौँको अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ ।