२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जाजरकोट भूकम्प (अपडेट ) 

भूकम्पले  ९०५ घरमा पूर्ण क्षति  :  ' २ हजार ७४५ घरमा आंशिक क्षति '

आइतवार , कार्तिक १९, २०८०

जाजरकोट, कात्तिक । भूकम्पमा परी जाजरकोटमा मात्रै ३ हजार ६५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांक अनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९०५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर ३ हजार ६५० घरमा क्षति पुगेको हो । त्यस मध्ये ९०५ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने २ हजार ७४५ घरमा आंशिक क्षति पुगेको छ ।

सबैभन्दा धेरै भेरी नगरपालिकामा ३४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ । 

त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।


शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार