काठमाडौँ, बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।
दुवै नेताले भेटवार्ताका क्रममा निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याइए लगानी निरुत्साहित हुनसक्ने भएकाले आफूहरु यस विषयमा गम्भीर रहेको बताएका जनाएका छन ।
राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई समेत समेट्ने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन अध्यक्ष ढकालले दुवै नेतासमक्ष आग्रह गरेका थिए ।
अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण विग्रिनेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
दुवै भेटमा बैंकिङ प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्था भएकाले ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्नेतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
भेटमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टी उदारवादी अर्थतन्त्रमा विश्वास गर्ने हुँदा निजी क्षेत्रका समस्या सम्बोधन गर्न प्रयास गर्ने बताए ।
पूर्व प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या सम्बोधन गरी निर्वाध काम गर्ने वातावरण बनाउन आफू र आफ्नो पार्टी सधै तत्पर रहेको बताए ।
वित्तीय क्षेत्रका समस्या समाधान गरी कर्जा प्रवाह बढाउनुपर्ने पक्षमा आफू रहेको उनले बताए ।