२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

अर्थमन्त्री - महासंघका नवनिर्बाचित पदाधिकारी भेट

'अर्थतन्त्रमा केही अप्ठ्यारा छन्, सरकार र निजी क्षेत्र मिलेर हटाउनुपर्छ'

अर्थमन्त्री महतले भने : राजनीतिक विषय र आर्थिक दायित्वबीच तादम्यता नहुँदा समस्या

सोमवार , बैशाख ४, २०८०

काठमाडौँ, बैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा केही अप्ठ्यारा र व्यवधान रहेको उल्लेख गर्दै निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटवार्तामा महतले भने, ‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर व्यवधान हटाउनुपर्छ ।’

राजनीतिक विषय र आर्थिक दायित्वबीच तादम्यता नहुँदा पनि समस्या सिर्जना भएको उनले बताए ।  बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वलाई राजनीतिक क्षेत्रबाट आर्थिक स्रोतको पहिचान र परिचालन गरी सँगसँगै लैजानुपर्नेमा त्यसो हुन नसकेको महतको भनाइ छ । ‘हामीले प्रतिस्पर्धा गर्दै गयौं, परिवेश र वास्तविकता अर्कोतिर थियो’ उनले भने ।

उद्योगी र बैंकहरुले एकअर्कालाई सहयोग गर्नुपर्नेमा महतले जोड दिए । ‘महासंघको नेतृत्व बैंकरको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं’ उनले भने ‘यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । 

सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’ अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरिरहेको बताए । अहिले बैंकर्स संघले घटाएको ब्याजदरले अप्ठ्यारोलाई सहज बनाउन मद्दत पुग्ने महतको भनाइ छ ।

 ‘निजी क्षेत्रले  वास्तविकता भन्नुहोस्, मौद्रिक नीतिमार्फत सम्बोधन गराउन सरकार तयार छ’ उनले भने ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार