२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राजस्व चुहावट : नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

बुधवार , पौष १३, २०७९


काठमाडौँ, पुस । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । 
बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन । अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिए । 
 राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन आएको प्रवक्ता काफ्लेले बताए । 
राजस्व चुहावट नियन्त्रणका लागि राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन पनि मन्त्री पौडेलले दिएका छन । 
त्यस्तै, समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमानाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासन सक्रिय भएर लाग्ने बताए ।  
कर्मचारीलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुहुँदै लामिछानेले अवैध व्यापारिक गतिविधि रोक्न दृढताका साथ काम गर्न पनि सबै सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए । 
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, गृहसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक राजस्व विभागमा महानिर्देशकलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार