२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चेम्बर अफ कमर्श भेट

प्रधानमन्त्री दाहालले भने : " अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित हुन्छ "

बुधवार , पौष १३, २०७९


काठमाडौँ, पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन ।   नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताएका छन ।  
प्रधानमन्त्री दाहालले भने, “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।”
उनले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताए ।  प्रधानमन्त्री दाहालले भने,  “सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।”
सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।   बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उनले बताए ।  
उनले भने, “दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।” चेम्बरले सरकारलाई आठबुँदे सुझावसमेत दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार