२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विद्युत् प्राधिकरण

बिजुली भारत निर्यात : ' थप दुई आयोजनाका निकासीका लागि अनुमति'

मंगलवार , पौष १२, २०७९


काठमाडौँ, पुस । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमति अनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । 
ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री  हुनेछ । पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ । 
आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी एक २४ दशमलव २५ मेगावाट र तल्लो मोदी १९ दशमलव चार मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कूल  ४५२ दशमलव छ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।
प्राधिकरणले यही पुस ३ गतेसम्म रु ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।
 प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । 
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)  मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट छ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।
सुरुमा दुईवटा  जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । 
त्यसपछि गत जेठ २७ देखि छ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा  ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।
प्राधिकरणले गत कात्तिक १८ र  ३० गतेदेखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता ४०८  मेगावाट बराबर पुगेको थियो । आज प्राप्त भएको अनुमति थप हो ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८÷७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी रु दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको छ । 
चालु आव २०७९÷८० को तीन पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी रु आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार बराबरको रकम आर्जन गरिएको छ । 
आइएक्समा विद्युत् खरिदबिक्रीका लागि २४ घण्टालाई १५÷१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । 
त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले तीन पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार