२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पारसले शतक : ' बागमतीले २६६ रन बनायो '

बिहिवार , फाल्गुण २७, २०७७

काठमाडौं, फागुन । लामो समयपछि पूर्ब कप्तान पारस खडकाको ब्याट चल्दा बागमतीले त्रिभुवन आर्मी क्लब विरुद्धको लिग चरणको अन्तिम खेलमा २६६ रनको सम्मानजनक योगफल तयार गरेको छ । पारसले ११९ रनको शतकीय पारी खेलेका छन ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गरेको बागमतीले ११ रनमै कप्तान ज्ञानेन्द्र मल्ल र आकाश थापालाई गुमाएर कमजोर सुरुवात गर्यो । तर पारस खडकाले इशान पाण्डेसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेर पारी उकासे ।

पाण्डे मात्र २६ रन बनाएर पेभेलियन फर्केपछि धरमराएको बागमतीको पारीलाई पारसले आदिल खानसँग ७७ रनको साझेदारी गरेर १७५ रनसम्म पुर्याए ।

आदिल २१ रन बनाएर पेभेलियन फर्किए लगत्तै पारसले शतक पुरा गर्दै ११९ रनको पारी खेलेर टोलिको योगफल २०८ रनसम्म पुर्याए । बिपीन आचार्य नौ रनमै पेभेलियन फर्किदा आठौं नम्बरमा ब्याटिंग गर्न आउनुभएका नन्दन यादबले विष्फोटक पारी खेल्दै टोलिको योगफल २६६ रनसम्म पुर्याए ।

उहाँले मात्र २५ बलको सामना गर्दै पाँच चौका र एक छक्का लगाएर अविजित ४२ रन बनाए । नन्दनले एपीएफ विरुद्धको खेलमा समेत अद्र्धशतकीय पारी खेलेका थिए । आर्मीका लागि सोमपाल कामीले दश ओभरमा ६५ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए ।

बिक्रम सोबले दश ओभरमा ३८ रन खर्चेर एक विकेट लिए। जितेन्द्र मुखियाले आठ ओभरमा दुई मैडन राख्दै ४९ रन खर्चेर एक विकेट तथा साहब आलम र करण केसीले एक एक विकेट लिए।

बागमतीले फाइनलमा पुलिससँगको भेट सुनिश्चित गर्न आर्मीलाई ठूलो अन्तरले हराउनैपर्ने तथा काठमाडौं मेयरले एपीएफ विरुद्ध जित्नुपर्ने हुन्छ । एपीएफले ठूलो अन्तरको हार बेहोरे र त्रिभुवन आर्मीले बागमतीमाथि ठूलै अन्तरको जित हात पारे काठमाडौं मेयर ११ र आर्मीको फाइनल पुग्न सम्भाबना जिवितै रहन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार