२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

विशेष महाधिवेशनबारे शेखर भन्छन्

पार्टी फुटबाट जोगाउन - ' मैले मध्यमार्गी धार अपनाएँ '

बिहिवार , माघ ८, २०८२

 

काठमाडौं, माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन्। बिहीबार मोरङ ६ स्थित सुन्दरहरैंचामा आयोजित कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताए।

प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए। छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रष्टाउदै भने, ' म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो। पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो। '

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, 'यो पार्टीको एउटा प्रक्रिया हो। आज डिला (डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिंडिराछौं। त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं।'

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाले बताए।

उनले भने, 'सांसद रहँदा संसद भ्रष्टाचारविरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहें। संसदभित्र र बाहिर लडिरहें।' छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाए।

पार्टी फुटाएर हिंड्नुभन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको बताए। पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यसअनुरुप आफूले बीचको बाटो समातेको उनले बताए। कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुन जोड दिए।

निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यसपटक कांग्रेसलाई जिताउन सबैले एकढिक्का भएर भूमिका खेल्नुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार