२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेकपा एमाले बैठक :  ' चुनावमा जाने औपचारिक निर्णय '

मंगलवार , पौष २२, २०८२

 

काठमाडौँ, पुस । एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ । संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो ।

सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ ।

त्यस्तै, निर्वाचनमा परिचालन कमिटीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र सदस्यहरुमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन् ।

एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ ।

बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ । त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ, उपमहासचिव लेखराज भट्टले सञ्चारकर्मीलाई भने, 'निर्वाचनमा खेलेको भूमिकाका आधारमा आगामी जिम्मेवारी निर्धारण गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार