काठमाडौँ , पुस । जेन - जी आन्दोलनकी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेकी छन्। बिहीबार काठमाडौँमा आयोजित जेन - जी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो माग राखेकी हुन्।
आन्दोलनकारीका मागहरू सम्बोधन गर्न र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार असफल भएको आरोप लगाउँदै किशोरीले प्रधानमन्त्रीलाई पद छोड्न आग्रह गरिन्।
'तपाईंसँग जेन- जीका माग पूरा गर्ने र शहीद परिवारलाई न्याय दिने क्षमता छैन भने पद ओगटेर नबस्नुहोस्,' उनले भनिन्, ' बुढेसकालमा काम गर्न कठिन हुन्छ भने मार्ग प्रशस्त गरेर तीर्थ यात्रामा निस्कनुहोस्।'
देशसँग जोस, जाँगर र भिजन भएका शिक्षित युवाहरूको कमी नरहेको उल्लेख गर्दै उनले अबको नेतृत्व युवा पुस्ताले सम्हाल्नुपर्ने धारणा राखिन्।
उनले २१ फागुनमा हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै शहीद र घाइते परिवारलाई पनि सही नेतृत्वको पक्षमा उभिन अपिल गरिन्। उनले सरकारले काठमाडौँ केन्द्रित केही आन्दोलनकारीसँग मात्र सम्झौता गरेर गाउँ- गाउँमा रहेका जेन - जी युवाहरूको भावनालाई उपेक्षा गरेको दाबी समेत गरिन्।
प्रधानमन्त्री कार्कीलाई चेतावनी दिँदै उनले भनिन्, ' घाइते र शहीद परिवारको रगतमाथि खेलबाड नगर्नुहोस्। ' भोलिको दिनमा इतिहासको आरोप झेल्नुभन्दा सक्षम युवाहरूलाई अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ।'
साथै, उनले जेन- जी आन्दोलनलाई भावनात्मक रूपमा लिई नाता - साइनो गाँसेर राजनीति नगर्न समेत प्रधानमन्त्रीलाई कडा चेतावनी दिइन्।
जेन- जी आन्दोलनले एक सय दिन पूरा गरेको सन्दर्भमा आयोजित यस कार्यक्रममा सहभागी अन्य युवाहरूले पनि वर्तमान अन्तरिम सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए।