काठमाडौँ, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताएकी छन । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुदै उनले यस्तो बताएकी हुन ।
कार्यक्रमको सम्बोधनका क्रममा भनिन्, यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ।
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यहरूमा आधारित साझेदारीको स्मरण गरे ।
अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थन मूल्यवान् रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।
नेपाल र अस्ट्रेलियाका बीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौंदेखिको सहकार्यका लागि आभार व्यक्त गरे। उनले भनेकी छन , नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ।
शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ।