२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'सुशासन र विकासमा ध्यान दिऔं ' : राष्ट्रपति पौडेल

आइतवार , कार्तिक २३, २०८२

 

काठमाडौँ, कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चार माध्यमहरुको योगदान महत्वपूर्ण हुने बताएका छन ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे ।

नेपाली जनताको ठूलो बलिदानीले लोकतन्त्रको स्थापना भएको हो । यसको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माण गर्न सञ्चार माध्यमको योगदान महत्वपूर्ण रहन्छ, उनले भने ।

राष्ट्रपति पौडेलले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ को निर्वाचन सफल बनाउनुपर्ने बताए ।

उनले भने, युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमहरुले अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने आजको आवश्यकता हो ।

राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यम तथा सन्चारकर्मीहरूलाई आग्रह गर्दै भने, सार्वजनिक सेवा प्रसारण सरकारी वा व्यावसायिक स्वार्थको सञ्चार संस्था होइन, यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको पक्षमा, राष्ट्रहितमा काम गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार