सुनसरी, असोज । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ।
आज बिहान ११ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापन अनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको सङकेत स्वरुप रातो बत्ति बाली रातो झण्डासमेत फहराइएको छ ।
यसैगरी कोसी ब्यारेज वरिपरी सवारी साधान सञ्चालनमा समेत रोक लगाइएको छ। यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ।