काठमाडौँ, असोज । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँ, २०८२ का अवसरमा शुभकामना व्यक्त गरेका छन ।
पौडेलले आइतबार जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका छन ।
दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन, बडादसैँ, २०८२ ले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भन्ने कामना गर्दछु ।
साथै मुलुकमा उत्पन्न भएको विषम तथा असाधारण परिस्थिति एवं मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्याको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि जुट्न राष्ट्रपति पौडेलले आग्रह गरेका छन ।