पोखरा, असोज । मुग्लिन - नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा - काठमाडौँ सडक खण्डमा पनि पर्ने गरेको छ।
उक्त पहिरोका कारण मुग्लिन खण्डमा सवारी साधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा- काठमाडौँ आवत जावत चल्ने सवारी साधनमा परेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए।
उक्त पहिरोका कारण सडकमा सवारी साधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन - नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ।
उनले भने , ' मुग्लिन - नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारी साधन पोखरा हुँदै जान थालेका कारण पनि सवारी साधनको चाप अत्याधिक छ।
पोखरा- काठमाडौँ खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारी साधनले सेवा दिइरहेको उनले जानकारी दिए।
दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठुलो सङ्ख्यामा सर्वसाधारण आवत जावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवत जावतमा कठिनाइ भएको उनले बताए।