काठमाडौँ, असोज । निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको छ ।
सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताएकी छन ।
प्रधानमन्त्रीले निर्वाचन आयोगलाई निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेकी छन । निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने छ भन्दै प्रधानमन्त्रीले निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गरिने जानकारी गराईन ।
छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको जानकारी गराएकी छन ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सरकार, राजनीतिक दल, नागरिक समाज एवम् सञ्चार जगत लगायत सबै सरोकारवालाको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।