२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अन्तरराष्ट्रिय युवा दिवस

राष्ट्रपति पौडेलले भने : ' समृद्ध नेपाल बनाउने अभिभारा युवाको काँधमा '

मंगलवार , श्रावण २७, २०८२

 

काठमाडौँ, साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन ।

अन्तरराष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए ।

उनले आफू र आफ्नो पुस्ताको युवामय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पु¥याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए ।

राष्ट्रपति पौडेलले आफ्नो युवावय सम्झँदै भने, ' यो क्षणमा मैले आफ्नो युवावयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु ।

तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन ।

परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुयाउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।

प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, यो सामथ्र्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।

प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलताविस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको उल्लेख गर्दै विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मूख्य कार्यभार भएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार