२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 प्रधानमन्त्रीको स्पेन भ्रमण

संसद्‌लाई प्रधानमन्त्रीले भ्रमणबारे दिए जानकारी  : ' यस्तो छ तालिका '

शनिवार , आषाढ १४, २०८२

 


काठमाडौँ, असार । प्रधामन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने स्पेन भ्रमणबारे संसद्‌लाई जानकारी गराएका छन् ।  संयुक्त राष्ट्रसंघको ' विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट)  को चौथो अन्तर्राष्ट्रिय सम्मेलनु मा सहभागी हुन आज साँझ उनी स्पेन प्रस्थान गर्दै छन् ।

स्पेनको सेभिया सहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता रहने गरेको छ ।

आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा भोलि बिहान पुग्ने तालिका छ । प्रधानमन्त्रीको टोलीमा २१ जना सहभागी हुनेछन् । यसमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधिसमेत रहनेछन् ।

परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टिमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा समावेश हुनेछन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकार सहित स्वकीय सचिवालयका आवश्यक व्यक्ति पनि टोलीमा रहनेछन् ।

भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्ने प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् । नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्ष सहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुनेछन् ।

साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष)  पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठक तय भएको छ । १५ गतेको अन्तिम कार्यक्रम स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोज रहेको छ ।

भ्रमणको तेस्रो दिन असार १६ गते बिहान प्रधानमन्त्री उद्घाटन सत्रमा सहभागिता हुनेछन् । अपराह्न गेट्स फाउन्डेसनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ । ‌प्रधानमन्त्रीले अल्प विकसित राष्ट्रहरु (एलडीसी)  को अध्यक्षका हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रो र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग द्विपक्षीय बैठक हुनेछ ।

स्पेन सरकारका प्रधानमन्त्रीद्वारा दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । चौथो दिन असार १७ गते अल्पविकसित मुलुकको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नेछन् ।

नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)  को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था ( इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन)  उच्चस्तरीय साइड–इभेन्टलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुखरसरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा उनको अर्को सम्बोधन हुनेछ ।

पाँचौं दिन असार १८ गते हामी सेभियाबाट म्याड्रिड फर्किने कार्यक्रम छ । साँझ नेपाल–स्पेन बिजनेस तथा लगानी प्रवर्धन कार्यक्रममा सहभागी हुनेछन् । छैटौं स्वदेश फर्किनुअघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीसँग भेटघाटको कार्यक्रम छ । 

स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाटपछि राति १०: ४५ बजे दोहाको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीले जानकारी गराएका छन् ।

प्रधानमन्त्रीको टोली असार २० गते स्वदेश फर्कनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार