काठमाडौँ, जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गरिने बताएका छन ।
नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीको स्वागतका लागि बोर्डमा आज आयोजित कार्यक्रममा उनले आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन प्रवर्द्धन गर्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।
सचिव मैनालीले भने, ' पर्यटन प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्नेछु । नेपालको समृद्धिको आधार पर्यटन हो । यसले रोजगारी सिर्जना गर्छ, आयआर्जन गर्छ, राष्ट्रिय पहिचान विश्वमा फैलाउँछ । उनले बोर्डका कामलाई नतिजामुखीबनाउन नीतिगत सहजीकरण गरी समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।'
यसैबीच बोर्डका अध्यक्षसमेत रहेका सचिव मैनालीले नवनियुक्त सदस्यहरू नरेन्द्रदेव भट्ट र कुमारमणि थपलियालाई पद तथा गोपनीयताको शपथ गराए ।
वरिष्ठ पर्यटन व्यवसायी भट्ट र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष थपलियाको नवीन सोच, अनुभव र ऊर्जा बोर्डलाई उपयोगी हुने विश्वास गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।
जोशीले बोर्डको हालका गतिविधि, बोर्डले अख्तियार गरेको रणनीति तथा आगामी योजना प्रस्तुत गर्नुका साथै नयाँ नेतृत्वसँग सहकार्य गर्दै पर्यटन क्षेत्रको दिगो र समुन्नत विकासमा केन्द्रित हुने बताए ।
कार्यक्रममा मन्त्रालयका सहसचिव इन्दु घिमिरे, पदाधिकारी, पर्यटन बोर्डका सदस्य तथा कर्मचारीको उपस्थिति थियो ।