२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मनसुन पूर्वबाट नेपाल प्रवेश : ' एक सातासम्म निष्क्रिय बन्दै '

आइतवार , जेठ १९, २०८२

मनसुन पूर्वबाट नेपाल प्रवेश : ' एक सातासम्म निष्क्रिय बन्दै '

काठमाडौँ, जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ ।

बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा  विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको माहाशाखाको अनुमान छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनुसुन भित्रिएको हो, बाँकी भू-भागमा मनसुन भित्रिन बाँकी छ । अब साता दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ, उनले भने, ' मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्याएको छ ।'

विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे । विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

जसमा चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ, उनले भने ।कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ ।

पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता तथा चेतावनीसम्बन्धी पूर्वसूचनालाई थप व्यवस्थित, प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसुन अवधिभर आमसञ्चार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन सुरु गरेको छ ।

विभागले कार्यालयमै हरेक दिन बिहान ११ बजे ब्रिफिङ सुरु गरेको छ, ब्रिफिङमा मुलुकभरको जल तथा मौसमसम्वन्धी सूचना, पूर्वानुमान तथा चेतावनीबारे जानकारी गराउँदै आइएको छ ।

उनले भने, सबै आमसञ्चारका माध्यम, सरकारी तथा निजी सरोकारवाला निकाय, गैरसरकारी संस्था, उद्धार तथा राहतमा संलग्न निकायलाई विभागसँग प्रत्यक्ष संवाद गर्न र जल तथा मौसमजन्य सूचना प्रवाहमा सहजीकरण गरिएको छ ।

विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोलफ्रि नम्बरमार्फत २४सै घण्टा सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार