काठमाडौँ, जेठ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक प्रतिपक्षद्वारा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगन गरेका थिए । आधा घण्टापछि पनि बैठक सुचारु नभएपछि सूचना टाँस गरेर दिउँसो साढे २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदनमा माग गरेपछि अवरोध भएको हो ।
सभाको आजको बैठक सुरु भए लगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका थिए । त्यसअघि सभामुख घिमिरेले नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेलाई सत्तापक्षका तर्फबाट बोल्ने समय उपलब्ध गराएका थिए ।
सत्तापक्षका सांसदलाई बोल्न नदिन रास्वपाका सांसदहरूले उठेर नाराबाजी गरेका थिए । सदनमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलका सांसदहरूले सत्तापक्षका सांसदहरूलाई बोल्न अवरोध गरेका थिए ।
रास्वपाका सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संग्लनताका विषयमा उच्चस्तरीय अनुसन्धान आयोग बनाउनुपर्ने माग गरे । उनले सो प्रकरणमा सङ्गठित रूपमा भ्रष्टाचार भएको भन्दै एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने जिकिर गरे । '
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाका नाममा निर्दोष युवालाई लुटेर करोडौँको अवैध असुलीको र्याकेट चलिरहेको छ,' सांसद खनालले भने, 'गृहमन्त्रीले पठाउनुभएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ ।' 'तर किन उहाँलाई अध्यागमनमा पठाइयो । गृहमन्त्रीको पनि स्वार्थ जोडिएको छ ।'
'यस्तै माओवादी केन्द्रका सांसद वर्षमान पुनले पनि गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका थिए ।'