२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बिपी राजमार्ग

रोशी खोलाको बाढीले डाइभर्सन बगायो : " बिहानैदेखि अवरुद्ध "

मंगलवार , बैशाख ३०, २०८२

 

काभ्रेपलाञ्चोक, वैशाख । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन ।

उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

साँझ ६ः०० बजे पनौती नगरपालिका - ५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी हुन । मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो ।

कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजी कार्य स्थगित गरिएको थियो । सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो । यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार