काठमाडौँ, वैशाख । प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२- ८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदले बताएका छन ।
आजको बैठकमा सांसदहरूले छलफलका क्रममा दिइएका सुझावलाई मनन गर्नुपर्ने र सोही अनुसार ठोस योजना बनाउनुपर्ने सुझाव दिएका हुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने, ' यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन ।
राष्ट्रिय सहमतिका साथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुने गरी संविधान संशोधन गरौँ भन्ने प्रस्ताव छ । सांसद ज्वालाले राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
सङ्घीयता सबलीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने, संवैधानिक आयोगसहितका संरचना घटाउने, महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नेगरी संविधानलाई समय सान्दर्भिक र जनमुखी बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउन विशेष जोड दिनुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको विभिन्न उदाहरणसहित प्रस्तुत गरे । उनले भने, 'यो नीति तथा कार्यक्रममा कतिपय विषयवस्तु पुराना दोहोरिएका छन् । खाद्यवस्तुमा दुई वर्षभित्र आत्मनिर्भर हुनेगरी कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी ? , उनले प्रश्न गरे ।
सांसद ढकालले थप उदाहरण दिँदै भने, ' आव २०७५-७६ को नीति तथा कार्यक्रममा बुँदा नं ३२ मा मछली उत्पादनमा आत्मनिर्भर हुने, अर्गानिक नेपाल बनाउने योजना तत्काल सुरु गर्ने भनिएको थियो ।
अहिले माछा किसानको हालत के छ ? विषाक्त माछाहरूले बजार पाएका छन्, तर मुलुकमा उत्पादन भएको माछा बजारको सुनिश्चितता छैन ।
जैविक मलको उत्पादन तथा अर्गानिक खेतीमा जोड दिने कुरा पटकपटक भनिएको छ, तर सुझाव दिइएका विषय कार्यान्वयनमा आएका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बीना जैसवालले नीति तथा कार्यक्रममा पुरानै योजना दोहोरिएको भए पनि केही विषयमा भने आशा गर्ने ठाउँ रहेको बताए । उनले भने, यो वर्ष प्रस्तुत गरिएको नीतिमा जेनजी स्टार्टअपमा लगानी, घरघरमा खानेपानीको पहुँचलगायत विषय कार्यान्वयन हुन सके जनता लाभान्वित हुने छन् ।