काठमाडौँ, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन ।
फरियन अफेयर्स मिडियाद्वारा आज आयोजित हिमालयन डायलडको पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको बताए । पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन ।
मलाई साथ देऊ भनिराखेका छन् , राजतन्त्रवादी तर्फ लक्षित गर्दै उनले भने, संविधानकै व्यवस्था अन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो । यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ थियो । जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ ।
जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ , उनले थपे ।
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबारे त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए ।
उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गरे ।
हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र सांस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन् ।