२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 यस वर्षको वसन्तकालीन याम 

 हिमाल आरोहण अनुमति सुरु  : ' हालसम्म ५८ जनाले अनुमति लिए '

बुधवार , चैत्र १२, २०८१

 
 
 
काठमाडौँ, चैत । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ ।  पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् । 
 
हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताए । 
 
“यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उनले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।”
 
सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।
 
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।
 
वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।
 
यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने)  कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । 
 
पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । 
 
सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । 
 
सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ । रासस

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार