काठमाडौँ, फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको पक्षमा ल्याइएको अध्यादेशको विरोध हुनु चिन्ताको विषय भएको बताएका छन ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन, सहकारीका क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न र सुकुम्बासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न ल्याइएका अध्यादेशका विरुद्धमा एक भई प्रतिपक्ष विरोधमा उत्रिनु दुःखको विषय भएको बताए ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अध्यादेशभित्र भएका विषयवस्तुमाथि टीकाटिप्पणीसहित विरोध हुनुपर्नेमा त्यो नभई एकोहोरो अध्यादेशका बारेमा मात्र विरोध भएकामा आश्चय व्यक्त गरे ।
मन्त्री गुरुङले जनताको सेवा गर्न, विकास निर्माणलाई गति दिई ;स्थायित्व प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न ल्याइएको अध्यादेश पास गर्नुको विकाल्प नरहेकोमा जोड दिँदै समग्रमा देश र जनतालाई केन्द्रमा राखेर ल्याइएको अध्यादेशका पक्षमा साथ दिन सबै राजनीतिक पार्टीहरूसँग आग्रह गरे ।
संविधानको भावना अनुसार सरकारका सबै निकाय पूर्ण लोकतान्त्रिक र समावेशी हुनुपर्नेमा जोड दिँदै उनले प्रजातन्त्रमा विधिको शासनसहित स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो नभइदिँदा लोकतन्त्र ट्र्यापमा परेको होकी भन्ने कोणबाट टीका टिप्प्पी हुनेगरेको बताए ।
हाम्रो प्रदेश सरकार, पालिका, समग्र प्रहरी प्रशासन हाँक्ने व्यक्तिको कार्यशैली र आचरण ठीक हुनुपर्ने धारणा व्यक्त गर्दै उहाँले पुराना संरचनालाई नयाँ व्यवस्था अनुरुप लोकतान्त्रिक र विधिसम्मत बनाउनुपर्नेमा जोड दिए ।
हामीले नीति र कानुनी व्यवस्थामा परिवर्तन ल्याउन नसक्दा मुलुकले सोचे अनुकूल उपलब्धि हासिल गर्न सकेन , मन्त्री गुरुङले भने, ' अहिले हामीले आवश्यक नीति रुपान्तरणमा जोड दिएका छौँ ।'
पछिल्लो समय हामीले ल्याएको लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी नेपाली कांग्रेस र नेकपा एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धन गर्नुपरेको हो भन्दै विकास र समृद्धिसहित लोकतन्त्रलाई सुनिश्चित गर्न वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।
मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यमलाई अझ व्यवस्थित र समयानुकूल बनाउन मन्त्रालय सधैँ सकारात्मक रहेको बताए ।