२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सडक दुर्घटना

बितेका छ महिना : ' सडक दुर्घटनामा एक हजार २३३ जनाले ज्यान गुमाए '

मंगलवार , फाल्गुण ६, २०८१


काठमाडौँ, फागुन । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ ।

गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।

अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर ९७ जनाको निधन भएको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।

मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । भयावह आत्महत्या मन्त्रालयका अनुसार चालु आवको छ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार ४५७ जनाले अकालमा ज्यान फालेका थिए ।

गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मङ्सिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

अपराध मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।

यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०र८१ मा कुल १९ हजार ७३०, आव २०७९र८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार