२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

  ' राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ '  : नेता  महर  

शुक्रवार , मंसिर २८, २०८१

 

काठमाडौं, मंसिर ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनुपर्ने बताएका छन् । 

नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च अदालतको नवौं अधिवेशनमा महरले सबै आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ' देश विकास र समाज सेवाका लागि हाम्रा सबैले आ(आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक लिन आवश्यक छ। कर्मचारीहरूले मात्र तलब पाउने उद्देश्य राखेर काम गर्ने र राजनीतिकर्मीहरूले भोट मात्र खोज्ने सोचाइले देशलाई अगाडि बढाउन सक्दैन।'  

महरले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यले मात्र सुशासन र विकास सम्भव हुने बताए। उनले थपे, 'राजनीतिकर्मीहरूले नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र कर्मचारीहरूले ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ। त्यसैमा मात्र देश र जनताले समृद्धिको अनुभूति गर्न सक्छन्।'  

कार्यक्रममा उनले निजामती कर्मचारीहरूका चुनौती र समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउँदै भने, 'कर्मचारीहरूको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्न, उनीहरूको काम गर्ने वातावरण सुधार गर्न, र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। '

' कर्मचारीहरूले प्रोत्साहन पाए मात्र उनीहरूबाट उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ। सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ । ' 

ली क्वान युको स्मरणग्रन्थ ‘सिंगापुर फ्रम थर्ड वर्ल्ड टू फस्ट वर्ल्ड’ लाई महरले उधृत गर्दै भने ‘राम्रो सरकार हुन राम्रा मानिस चाहिन्छ । जतिसुकै राम्रो प्रणाली भए पनि खराब नेताले जनताको हानि गर्दछन् । 

'सिंगापुरको विकासको एक मात्र कारण मन्त्रीहरूको क्षमता र उनीहरूलाई सघाउने उच्चस्तरका कर्मचारीहरू हुन् । '

कार्यक्रममा महरले भने, 'न्यायालय मात्र होइन, अन्य सरकारी निकायमा पनि कर्मचारीहरूले आफ्नो भूमिका अझ जिम्मेवार र पारदर्शी बनाउन सकून् भन्ने वातावरण निर्माण गर्नुपर्छ।'

'हामीले सुशासन, पारदर्शिता, र समर्पणमार्फत मात्र राष्ट्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।'  

साथै महरले निजामति ऐन सबैको साझा विषय भएकाले सबैको हल्लाह र सहकार्यमार्फत थप समृद्द बनाउनुपर्ने कुरामा समेत जोड दिए ।

सर्वोच्च अदालतको विभागीय समितिद्वारा आयोजित कार्यक्रममा निजामती कर्मचारीको अधिकार र उत्तरदायित्वका साथै तल्लो तहसम्म सेवा प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार