२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी खबरदारी सभा 

अध्यक्ष दाहालले भने  : ' अब तपाईहरूसँग समीकरण गरौं भनेर आउँदैनौं "

सरकार ढल्छ भन्ने डरले बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला  

शनिवार , कार्तिक १०, २०८१

 

काठमाडौँ, कात्तिक । प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको बताएका छन् ।

सरकार ढल्छ भन्ने डरले अझै बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नलाग्न पनि पूर्वप्रधानमन्त्री दाहालले चेतावनी दिएका छन् । माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,' सरकारमा जान वा सरकार ढलाउन माओवादी सडकमा आएको होईन ।

' अध्यक्ष दाहालले भने,' अहिले सरकार ढाल्न खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौं उनीहरूले नै भनेका छन । तपाईहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला ।'

हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ ।  अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।'

माओवादीले खबरदारी सभा घोषणा गरेपछि सरकारमा रहेका दलहरूले सरकार ढाल्न खोजेको र त्यो संविधान विरोधी हुन्छ भन्ने अभिव्यक्ति दिएको कुरा आफूकहाँ पनि पुगेको दाहालको भनाइ थियो । सत्तारुढ दलहरूले सरकार पूरै अवधि चलाओस् भनेर आफूले पहिले नै भनेको दाहालले उल्लेख गरे ।

उनले माओवादी सरकार ढाल्ने काममा नलाग्ने बताए । तर, सरकारमा रहेका दलहरू 'भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा' गइरहेकाले आफै ढल्ने बताए । यी कारणले सरकार ढलेमा आफूलाई दोष नदिन पनि दाहालको भनाइ थियो ।

दाहालले थपे, 'तपाईहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति, बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिका रूपमा रहनुभएको छ, हामीले केही समय तपाईंहरूसँग सहकार्य गरेर गल्ती गरेछौं भन्ने परेको छ । तपाईंहरूसँग अब समीकरण गरौं, मन्त्री र प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार