२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 सहकारी ठगी प्रकरण

कास्की अदालतको लामिछाने र जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिहिवार , कार्तिक ८, २०८१

 


कास्की, कात्तिक ।  सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए ।

उनीहरूले अनुसन्धानको क्रममा विभिन्न सरकारी कार्यालयहरू, संघसंस्था र बैंकहरूबाट कागजात माग गरिएको, तर प्राप्त भइनसकेको तथा बयानको काम समेत बाँकी रहेकाले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

लामिछानेकातर्फबाट वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ताहरू नारायण कँडेल, सांसदसमेत रहेकी सोविता गौतम, पदमराज शर्मा र मधुकुमार चौलागाँईले बहस गरेका थिए । 

त्यस्तै, जोशीका पक्षबाट अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए ।

बहसका क्रममा इजलास समक्ष आफ्नो भनाइ राख्दै लामिछाने आक्रोसित रुपमा प्रस्तुत भएका थिए ।  उनले आफूले पटक-पटक परीक्षा दिइसकेको तर आफूमाथि राजनीतिक प्रतिसोध साँधिएको दाबी गरेका थिए । 

तर केहीबेरमा सम्हालिएका उनले न्यायालयप्रति भने आफूलाई विश्वास रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार