काठमाडौँ, कात्तिक । प्रमुख तीन दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गर्ने सहमति गरेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तीन दलको शीर्ष नेता बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्याउन सो सहमत गरेका हुन ।
तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको जनाइएको छ ।
बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्ने जनाइएको छ ।
बैठकमा उपस्थित एक नेताले भने, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत बैठकमा सहभागी थिए ।