काठमाडौँ, असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ।
बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।
उक्त बुलेटिन अनुसार यसवर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी- नवमी (२५ गते) र दशमी (२६ गतें) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ।
विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ।
बाँकी भू- भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
उनले ठुलो पानी पर्ने सम्भावना भने नरहेको बताए।
मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ।
यस वर्षको मनसुन हिजो मङ्गलबारदेखि नै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू(भागबाट बाहिरिइसकेको छ।
महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू- भाग र मधेस प्रदेशका पश्चिमी भू(भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।
हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू- भागमा मनसुनी वायुको प्रभाव बाँकी छ।
नेपालमा यही असोज २० गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। यस वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो।