पाटन (ललितपुर), असोज । हालैको विपत्बाट विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेलमा आज बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन ।
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको र जतिसक्दो चाँडो समस्या समाधान गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले सरकार नागरिकको अभिभावक पनि भएकाले सोही अनुसार अभिभावकत्व निर्वाह गर्न प्रतिबद्ध रहेको बताए ।
' पुनःनिर्माण र पुनःस्थापनाका लागि सरकारले छिट्टै व्यवस्था गर्छ । यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? कसैले नसोच्नुहोला ।
सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो,' उनले भने,'सोही भावनाका साथ सरकार अत्यन्तै संवेदनशील भएर पुनःनिर्माणमा लाग्छ । प्रभावित नागरिकलाई अभिभावकत्व प्रदान गर्छ ।'
यस कार्यमा सत्ता पक्ष वा प्रतिपक्ष, राजनीतिक आस्था वा कुनै पूर्वाग्रह नराखी सबै मिलेर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । '
' कुनै राजनीति, पक्ष—विपक्ष नभनी तीनै तहका सरकार, राजनीतिक दल, गैरसरकारी संस्थालगायत सबै मिलेर विपद्पछिको समस्या समाधान गर्न लाग्नुपर्छ । त्यसमा सरकारले सहजीकरण गरिरहेका छ,' उनले भने ।
गृहमन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह गरे ।
'लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तास्वरुप रु २५ हजार पठाउछौँ,' उनले भने ।
रक्षामन्त्री मानवीर राईले विपद्बाट सर्जित समस्या समाधान गर्न मिलेर काम गर्दा छिट्टै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।