काभ्रे, असोज । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बाढीपहिरो प्रभावितको खोजी, उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्ने बताएका छन् ।
सोमबार गृहमन्त्री लेखकले बाढीपहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका - १२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको-४ स्थित चलाल गणेशस्थानको स्थलगत अनुगमनका क्रममा सो कुरा बताएका हुन ।
गृहमन्त्री लेखकले थपे, बाढीपहिरो प्रभावितको खोजी उद्धार, राहत विरण, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण काम सरकारले गर्छ ।
प्राकृतिक विपत्तिका कारण यस क्षेत्रमा धेरै मानवीय एंव भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘प्राकृति विपत्तिले भएको क्षतिमा सरकार पीडामा छ, पीडाको बेलामा सरकारले गम्भीरतापूर्वक काम गर्नेछ, यहाँ तत्काल राहत वितरण, पूर्वाधार विकास, नागरिकका आधारभूत आवश्यकता, यस विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि काम गर्न आवश्यक देखिएको छ ।’
सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम उनले बताए । त्यसपछि सडक सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले काम गर्ने उनले बताए ।
उनका अनुसार यससँगै स्वास्थ्य सेवा व्यवस्थापन र विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरुको नियन्त्रणका लागि काम गर्ने सरकारले योजना बनाएको छ ।
स्थलगत अनुगमनमा बाढीपहिरोमा परेर धेरै घरबारबिहीन भएको अवस्था आफूले देखेको बताउँदै उनले भने, ‘बासस्थान नभएका ५ जनासम्मको परिवारलाई १५ हजार, ५ जनाभन्दा माथिका परिवार भएकालाई २० हजार रुपैयाँ सरकारले तत्कालै वितरण गर्नेछ, यसको लागि स्थानीय तहका जनप्रतिनिधिले लाभग्राहीको विवरण संकलन गरेर सरकारलाई पठाउनुपर्नेछ, यहाँ प्राप्त विवरणको आधारमा सरकारले ३ दिनभित्र रकम व्यवस्थापन गर्नेछ ।’
विपदको समयमा बाढीपहिरोमा परेका प्रभावितहरुलाई खोजी, उद्धार तथा राहत वितरण कार्यमा सक्रिय रुपमा काम गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिँदै थप मिहनेतका साथ जनताको सेवामा लाग्न उनले सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।