२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 बिपद्को ब्यथा 

बाढी पहिरोको बितण्डा  : '  मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता '

सोमवार , आश्विन २१, २०८१

 

काठमाडौँ, असोज । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर सोमबारसम्म मृत्यु हुनेको संख्या २४६ पुगेको छ । 

सोमबार साँझसम्म  १७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सञ्चारकर्मीलाई  जानकारी दिए । उनका अनुसार कूल १७ हजार १७४ को उद्धार गरिएको छ । 

सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै  १३९ जनाको मृत्यु भएको छ ।

एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । 

प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाममा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । 

आपतकालीन राहत, पुनःनिर्माण र पुनःस्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनःनिर्माणलाई गति दिन निर्देशन दिएको प्रवक्ता तिवारीले बताए ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार