काठमाडौँ, असोज । नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ ।
साथै, कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।
एक साताअघि मात्रै अकस्मात् भारी वर्षा हुँदा काठमाडौं उपत्यकासहित देशका पूर्वी भेगमा बाढी पहिरोले ठूलो क्षति पुर्याएकामा दसैं नजिकिँदा समेत पानी पर्न छाडेको छैन । तर, अब दसैंसँगै मनसुन पनि बाहिरिने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् ।
विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको छ । अब केही दिनपछि नेपालको बाँकी भूभागबाट समेत मनसुन बाहिरिने सम्भावना रहेको छ ।
‘मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ,’ विभागले भनेको छ ।
आइतबार पनि देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रह्यो ।
विभागका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भएको छ ।
मनसुन कायम रहेको क्षेत्रमा सोमबार र मंगलबार पनि मौसममा आंशिक बदली रहने विभागले जनाएको छ । यो वर्ष गत जुन १० मा मनसुन नेपाल भित्रिएको थियो ।
विज्ञहरूका अनुसार सरदर मितिभन्दा तीन दिन अगावै मनसुन नेपाल भित्रिएको थियो ।
नेपालमा औसतमा सरदर ११२ दिन अर्थात् जुन १३ मा सुरु भएर अक्टोबर २ सम्म मनसुन रहने गरेको छ । तर, यो वर्ष केही ढिलो गरी मनसुन बाहिरिन थालेको हो ।
भारतीय उपमहाद्वीपमा हुने उच्च तापमानले बंगालको खाडीबाट मनसुनी हावा आउने गर्छ ।
हिन्द महासागरको पानी बाफ बनेर हावामा मिसिन्छ । बाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ बहन्छ ।
तातो हावा चिसिएपछि पानी पार्छ । हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ ।
मनसुन भन्नेबित्तिकै धेरैले भारी वर्षा सोच्ने गर्छन् । तर, यो हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खासमेत गराउन सक्छ । नेपालको सन्दर्भमा बंगालको खाडीबाट आउने हुँदा जलवाष्पयुक्त हावा धेरै हुन्छ ।
त्यो हावा चिसिएपछि बदली र वर्षाको सम्भावना धेरै रहन्छ । यो वर्ष मनसुनमा काठमाडौं उपत्यकासहित देशका २५ स्थानमा नेपालमा वर्षा मापन सुरु भएयताकै सबैभन्दा बढी वर्षा मापन भएको छ ।