२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राज्यव्यवस्था समिति बैठक छलफल

गृहमन्त्री लेखकले भने : ' रात्रिबस रोक्न निर्देशन थियो, किन रोकिएन छानबिन हुँदैछ '

मंगलवार , आश्विन १५, २०८१

काठमाडौँ, असोज । वर्षाका कारण दुर्घटना हुने भनी रात्रिबस रोक्न गरेको यात्रासम्बन्धी निर्देशिका जारी गरेको अवस्थामा कसरी यातायात सञ्चालन भए भनेर आन्तरिक छानबिन भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले पूर्वसूचना जारी गर्दा पनि किन रात्रिबस काठमाडौं प्रवेश गर्न रोकिएन भनेर आन्तरिक छानबिन भइरहेको जानकारी दिए ।

मौसम पूर्वानुमानको सूचनामा आधारित भएर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भनेर सांसदहरूले गृहमन्त्रीलाई सोधेका थिए ।

धादिङको झ्याप्लेखोलामा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो । सो विषयमा गृहमन्त्री लेखकले भने, 'एडभाइजरी नोट जारी गरेका थियौं, तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ ।

आन्तरिक छानबिन भइरहेको छ ।' गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार