काठमाडौँ, असोज । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निरन्तरको वर्षापछि मुलुकका विभिन्न जिल्लालाई राजधानीसँग जोड्ने राजमार्ग र सहायक सडक अवरुद्ध भएको मौका छोपेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकोलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।
राज्यव्यवस्था समिति बैठकपछि सभापति रामहरि खतिवडाले आइतबार एकातिर प्राकृतिक प्रकोपले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाँडको समयमा काठमाडौंलगायतका ठूला सहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाइ भाडा बढाउने गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
राज्यव्यवस्था समितिमा नागरिकहरूले विभिन्न माध्यमबाट हवाइ भाडा अनियन्त्रित रूपमा चर्को बनाइएको भन्ने उजुरी आएपछि सरकारको सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको सभापति खतिवडाले बताए । '
अहिले महंगो दरमा मात्रै टिकट बेच्ने क्रम बढेको देखिएको छ ।यो प्राकृतिक बिपत्ती र चाडबाँडको बेलाको गलत फाइदा लिने काम भएको देखिन आएको छ ।
मुलुक अप्ठ्यारोमा परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा उल्टै भाडा बढाउने र टिकटको संकट देखाउने काम भएको छ,' समिति सभापति खतिवडाले भने, 'धनगढीको भाडा १८ हजारसम्म पुर्याइयो, टिकट पाइन्न, टिकट लुकाइयो भनी नागरिक तहबाट समितिमा उजुरी आएका छन् ।'
'त्यसैका आधारमा सम्बन्धित मन्त्रालयलाई लिखित निर्देशन दिइएको छ ।'
सडक भत्किएर यातायात सेवा अवरुद्ध भएको अवस्थामा बढीभन्दा बढी हवाइ सेवा उपलब्ध गराउन पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराइएको सभापति खतिवडाले बताए ।