२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 पछिल्लो १५ घण्टायता  : "  देशैभर निरन्तर मध्यमदेखि भारी वर्षा "

आइतबार मध्यान्हपछि मौसममा  क्रमशः  सुधार आउने

शुक्रवार , आश्विन ११, २०८१

 

काठमाडौँ, असोज । पछिल्लो १५ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखको विवरणमा संघीय राजधानी काठमाडौँ उपत्यका सहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ  महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँ सहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताइन् । विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । 

झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर र इलाममा  २४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिइन् ।

पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौँका थोरै स्थानमा भारी वर्षा भएको छ । 

कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

ललितपुरको लेलेमा  ११५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । 

अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ ।

काठमाडौँको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

काठमाडौँ उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार