२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

' सुदूरपश्चिम क्षेत्रको विकासमा लागीपर्छु'  :  परराष्ट्रमन्त्री डा. राणा

बुधवार , भाद्र २६, २०८१

 

काठमाडौँ, भदौ।  परराष्ट्रमन्त्री डा, आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन । 

सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग  उनले आज यहाँ आफूले विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यो क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन ।  

उनले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको भन्दै यो अवस्थाको निराकरणका लागि काम गर्न पनि मञ्चलाई आग्रह गरिन ।   

“अहिले आत्महत्या गर्नेमा १५ प्रतिशत जति २० वर्ष मुनिका युवायुवती रहेका तथ्य बाहिर आएको छ।  यो निकै गम्भीर अवस्था हो।  सुदूरपश्चिमको अवस्था झन् खराब देखिन्छ।  अब हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ। 

यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ।  यहाँहरू पनि त्यसमा लाग्नुहोला”, मन्त्री डा. राणाले भनिन् ।   

परराष्ट्रमन्त्री डा. राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकामा सो प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो।  

उक्त सरोकार मञ्चको प्रतिनिधिमण्डलले मन्त्री डा. राणाले भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट नेपालले अधिकतम लाभ लिन सक्नेगरी कुरा उठाई प्रक्रिया समेत अघि बढाएकामा धन्यवाद ज्ञापन गर्दै यसको कार्यान्वयनका लागि थप लागिपर्न आग्रह  गरेको थियो। 

मन्त्री डा. राणाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति तथा धनगढीको फाप्लामा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा उठाएकी थिईन ।  

सो प्रतिनिधिमण्डका सदस्यले गौरीफन्टा तथा गड्डाचौकी नाकाबाट ओहोर दोहोर गर्ने क्रममा नेपालीलाई भारत तर्फबाट धरपकड हुने गरेको गुनासो गर्दै त्यहाँ सुरक्षा र थप व्यवस्थापनका लागि आग्रह गरेकी थिईन ।  

मन्त्री डा। राणाले नेपालले आफ्ना छिमेकी देशतर्फका नाका एवम् सीमा सुरक्षा चौकीलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताएकी छन ।  

त्यस अवसरमा सो सरोकार मञ्चले मन्त्री डा. राणालाई सम्मान प्रदान गरेको थियो।  

मञ्चका अध्यक्ष बहादुरसिंह विष्टसहित पदाधिकारी तथा सदस्यले देशको सुदूरपश्चिम जस्तो विकट क्षेत्रबाट प्रतिनिधित्व गरी मुलुकको परराष्ट्रमन्त्री जस्तो गरिमामय पदमा पुग्नुभएकामा उनको सफल कार्यकालको कामना गर्दै सम्मान प्रदान गरे । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार