काठमाडौँ, भदौ । नेकपा ( माओवादी केन्द्र) ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधिसभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ ।
गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो ।
सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिएका थिए ।
सोही विषयको सन्र्दमा बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गरेका थिए ।
सो रुलिङ संविधान विपरीत भएको भन्दै माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका हुन् ।
बैठकमा बोल्दै नेकपा९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले रुलिङको विरोध गर्ने बताए ।
संविधान विपरीत हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरूले त्यसलाई नमान्ने बताए ।
उनले भने, ‘हिंसाको विषयवस्तु संविधान विपरीत छ । कानुन विपरीत छ । यस्तो किसिमको शब्द हुनुहुँदैन भनेर हामीले बारम्बार कुराकानी गरेका छौँ ।
के अब संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो रु यसैले म फेरि पनि सचिवालयलाई संविधान, कानुनलाई हेरेर आफ्ना विषयवस्तुहरूलाई, निर्णयहरूलाई आग्रह गर्दछु ।
संविधान मुख्य विषयवस्तु हो । माओवादी जनयुद्धबारे जसरी संविधानमा उल्लेख भएको छ । जसरी शान्ति प्रक्रियामा कुरा उठेका छन् । यसमा नियतको विषयवस्तुको कुरा छ ।
माननीयले त्यो दिन जनयुद्धलाई होच्याउने र जनमुक्ति सेनालाई अपमानित गर्नुभएको छ । जुन व्याख्या आएको छ यसमा हाम्रो दल विरोध गर्दछ । बेठिक भएको छ । संविधानभन्दा माथि कोही छैन ।’
लगत्तै नेकपा (एमाले) का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताए । उनले संसद्मा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताए ।
उनले सभामुखले संविधान र कानुनसम्मत रुलिङ गरेको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘हिंसा भन्ने शब्द आफैंमा असंसदीय होइन । व्यक्तिलाई देखाएर भन्न पाइँदैन त्यो चाहीँ हो ।
आज सभामुखले जे रुलिङ गर्नुभएको छ, सभामुखको रुलिङमाथि पटक–पटक प्रश्न गर्नुपर्ने हाम्रो नियमावलीमा पाइँदैन । सभामुखले संविधान र कानुनसम्मत रुलिङ गरिसकेपछि त्यसलाई मानेर जाने हामी सबैको दायित्व हो ।’
बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताए । उनले सो शब्द सच्याउन माग गरे ।
पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरीत भएको भन्दै स्वीकार्य नहुने दोहोर्याए ।
उनले भने, ‘रुलिङ संविधान विपरीत । कानुन विपरीत । हामीलाई यो विषय स्वीकार्य छैन । संविधान बाहिर गएर व्याख्या गर्न मिल्दैन । संविधानको बर्खिलाप हुन्छ । यो हामीलाई मान्य छैन । यो विषय हुँदैन ।’
यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।