तनहुँ, भदौ । तनहुँको आँबुखैरेनीमा आज भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १४ जनाको शव निकालिएको हो ।
उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
घाइतेको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमाण्डमा ४५ जनाको टोली खटिएको छ ।
घटनास्थल अप्ठ्यारो भीर भएकाले घाइतेको उद्धारमा कठिनाइ भइरहेको छ ।
उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।