काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा जनतालाई भड्काएर एकता भाँड्ने प्रयास भइरहेको बताएका छन । उनले त्यसलाई सबै मिलेर चिर्नुपर्ने बताए ।
नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको उद्घाटनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्न खोज्ने त्यस्ता प्रयासलाई चिर्न खेलाडीहरुको विशेष भूमिका हुनुपर्ने बताए ।
उनले अहिले विभिन्न शक्तिले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिइएको बताए ।
'यति सानो देशमा हामी धेरै जाति, भाषी र समुदाय मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो, ' प्रधानमन्त्री ओलीले भने, 'हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनुहुँदैन । '
खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन ।
'यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।'
उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने बताए ।
अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचार विरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे ।
देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भनेर वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् ।
तपाईँहरुले यसतर्फ पनि सचेत भएर लाग्नुपर्छु, उनको भनाइ थियो, 'समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ ।
म तपाईँहरुलाई भन्न चाहान्छु, 'अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि र सुशासन कायमका लागि अनुहार हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ ।'