२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक 

कांग्रेस  बैठक दस दिन स्थगित  :   " भदौ ७ मा  पुनः बस्ने "

नेताहरुले धारणा राख्नेक्रम निरन्तर

सोमवार , श्रावण २८, २०८१

 

काठमाडौँ, साउन । गत बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते पुन: बस्ने भएको छ । बैठकमा विभिन्न ११ वटा प्रस्तावहरु पेस भएकोमा ती प्रस्तावहरुमाथि नेताहरुले धारणा राख्नेक्रम निरन्तर छ । 

केन्द्रीय समिति बैठकमा पाँच दिनसम्म ती प्रस्तावहरुमाथि छलफलपछि निर्णय नै नगरी दस दिनका लागि बैठक स्थगित भएको हो ।

मंगलबारदेखि सङ्घीय संसद्का बैठक नियमित भएका र आगामी साता विभिन्न चाडपर्व भएकाले कांग्रेसले अर्को बैठक आगामी भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, सरिता प्रसाईं, रामजनम चौधरी, गोपाल दहित, मधु आचार्य, उमेशजङ्ग रायमाझी, अर्जुनजङ्गबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रङ्गमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुँगटाले आआफ्नो धारणा राखेका थिए ।

सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

बैठकले पूर्वपार्टी सभापति एवं पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा उनीप्रति उच्च सम्मानका साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको छ । 

राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता कोइरालाको जन्म विसं १९९६ साउन २८ गते भएको थियो ।

सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताका रूपमा उनले निर्वाह गरेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको कांग्रेसको ठहर छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार