२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

“लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन ”  : उपप्रधानमन्त्री पौडेल

बुधवार , श्रावण १६, २०८१

 

पाटन (ललितपुर), साउन । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन ।  

आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।  उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  

“विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई त अन्त्य गर्यौँ तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी छन् । यी काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाजलगायत सबैको हो । सबै मिलेर अगाडि बढ्न आवश्यक छ । पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्छ”, उनले भने । 

उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राखे ।

“लोकतन्त्रविना मानवअधिकारको रक्षा हुन सक्दैन । यसर्थ मानवअधिकारको रक्षा र सबल अवस्थाका निर्माणका लागि लोकतन्त्र अपरिहार्य छ । यसमा नेपाल सरकार प्रतिबद्ध छ”, उनको भनाइ थियो । 

उपप्रधामन्त्री पौडेलले मानवअधिकार संरक्षणमा राज्य जिम्मेवार बन्न र न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर कार्य गर्न आवश्यक रहेकामा जोड दिए ।   

उनले द्वन्द्व सकिएपछि सङ्क्रमकालीन न्याय मुख्य सरोकारको विषय भएकाले यसमा सबै गम्भीर हुनुपर्ने बताए ।  

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले अधिकार रक्षाका लागि सचेतता जगाउन आवश्यक रहेको बताएकी छन ।  

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सङ्क्रमणकालीन न्यायको विषयमा नेपाल सरकारको धारणा सकारात्मक रहेको बताए ।  

इन्सेकले यसवर्षको प्रकाश मानवअधिकार पुरस्कार काभ्रेको नमोबुद्ध नगरपालिका–९ दाप्चाकी पूर्णिमाया लामा तामाङलाई प्रदान गरेको हो । 

पुरस्कार ग्रहणपश्चात मन्तव्य राख्दै तामाङले निर्दोष मान्छेलाई अपहरण गरी हत्या गर्नेलाई कारबाहीका लागि आफू सङ्घर्षमा रहेको र ढिलै भएपनि न्याय मिल्ने आशा रहेको बताए । 

गत वर्ष २९औँ प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकैया खातुनलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रहेको छ । 

३२ औँ प्रकाश स्मृति दिवस तथा ३० औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर इन्सेकले ‘साउथ एसियन ह्युमन राइट्स जर्नल’ प्रकाशन सुरुआत गरेको छ । जर्नल त्रैमासिक रुपमा प्रकाशन हुने इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले जानकारी गराए । 

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको श्रीलङ्कामा भएको कार्यक्रमबाट नेपाल फर्कने क्रममा २०४९ साउन १६ गते थाइ एअरको दुर्घटनमा ११४ जनाको निधन भएको थियो ।

मानवअधिकार अभियानमा क्रियाशील रहेकै समयमा दिवंगत हुनुभएका काफ्लेको सम्झनामा इन्सेकले प्रत्येक वर्ष ५० हजार राशिको ‘प्रकाश मानवअधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार