२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

 " राजनीतिक स्थायित्वले समृद्धिकाे बाटोमा लैजान्छ "  :   राष्ट्रपति पौडेल

बुधवार , श्रावण १६, २०८१

 

काठमाडौँ, साउन । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिको स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सके अग्रजको परिकल्पना पूरा हुने बताएका छन ।  

डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले आर्जन गरेको अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि केन्द्रित र समर्पित गर्नुपर्ने बताए । 

उनले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्ने बताउँदै भने, ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरे अनुसार राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोतर्फ लैजान सकेमात्र हाम्रा अग्रज राजनीतिज्ञहरूले परिकल्पना गरेको लक्ष्य साकार हुन्छ । 

त्यसैले सुशासन, विकास र समृद्धि हाम्रो राष्ट्रिय अठोट र प्रतिबद्धता हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।’’

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका डा.रेग्मीको व्यक्तित्व बहुआयामिक भएको बताउँदै नेपालको राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रेरणादायी भएको स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले अङ्ग्रेजी भाषामा नेपालको इतिहास लेखेर नेपाललाई संसारमा चिनाउन रेग्मीले दिएको योगदानको स्मरण गरे ।  

यस वर्षको एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाल तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार